
प्राचीन समयदेखि नै चिकित्साका दुईवटा भाग छन् । एउटा काय चिकित्सा (मेडिसिन) र अर्को शल्यचिकित्सा (शल्यक्रिया) । यसै आधारमा चिकित्सकहरु पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औषधि उपचारको माध्यमबाट हुने गर्छ । शल्यचिकित्सामा चिकित्सकको हस्तकौशलको भूमिका हुने गर्छ भने काय चिकित्सामा औषधोपचार नै सर्वेसर्वा हो । न्युज एजेन्सी नेपालले काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. स्पन्दनदर्शन अधिकारीसँग नेपालको समग्र शल्यचिकित्साको अवस्थाबारे प्रश्न गरेको छ । नेपालको शल्यचिकित्सा सेवा अहिले विस्तारै देशभर फैलिरहेको बताउँछन् । उनले करारका भए पनि गाउँगाउँमा चिकित्सक पुगेको बताए । शल्यचिकित्सासम्बन्धीका सामान्य बिरामी पनि काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको उनले बताए । प्रस्तुत छ काठमाडौं मेडिकल कलेजका चिकित्सक डा.स्पन्दनदर्शन अधिकारीसँग गरिएको कुराकानी ।
नेपालमा शल्यचिकित्साको समग्र अवस्था कस्तो छ ?
शल्यचिकित्सा सेवा अहिले देशभर विस्तार हुँदै गइरहेको छ । पहिले काठमाडौंमा मात्र हुन्थ्यो । करारका चिकित्सक भए पनि गाउँ-गाउँमा पुग्न थाल्नुभएको छ । पहिले शल्यचिकित्सासम्बन्धीका समान्य बिरामी पनि काठमाडौं आउनुपर्ने अवस्था थियो भने अहिले धेरै उपचारहरु गाउँघरतिर नै हुन थालेका छन् । अहिले रिफर भएर आउँदा पनि थप उपचार चाहिने बिरामी मात्र आइरहेका हुन्छन् । अर्को जुन तपाईंले जनशक्तिको कुरा गर्नुभयो । अहिले देशभर फैलिनुभएको छ । यो राम्रो कुरा पनि हो ।
शल्यचिकित्सा सेवा पहिले केन्द्रिकृत थियो, अहिले विकेन्द्रिकृत भइरहेको बेला यसमा जनशक्तिको पाटो धेरै नै महत्त्वपूर्ण होला । केही शल्यक्रियाका घटनाहरुमा चिकित्सकको कमीका कारण दुर्घटना भएका घटनाहरुसमेत बाहिरिने गरेका छन् । सेवा प्रवाकहको हिसाबले शल्यचिकित्सा सेवामा सन्तोष गर्ने ठाउँ छ ?
सर्जकको गल्तीका कारण समस्या हुने गरेको बुझाइ आमनागरिकमा छ । यस्ता कुराहरु जानि जानि हुने कुराहरु पनि होइनन् । अर्को यस्तो कुरा एकदमै रेयर केसहरुमा मात्र हुन्छ । हामीले टिममा काम गर्ने हो । मिडियामा एकापट्टि अपरेसन गर्नुपर्ने अर्कोतिर गरिदियो भन्ने सुनिन्छ । यी एकदमै दुर्लभ घटनाहरु हुन् । हामीले अपरेसन गर्दाखेरिको अपरेसन रुपमा ल्याउनुभन्दा अगाडि एउटा डब्ल्ल्यूएचओ चेकलिस्ट भन्ने हुन्छ । त्यो चेकलिस्टअनुसार अपरेसन रुममा छिराउनुभन्दा अगाडि नै बिरामीको नाम के हो ? कस्तो लाखे शल्यक्रिया गरिने हो ? यो सबै सोधेर स्पष्ट गर्ने गरिन्छ । ओटीमा जसले छिराउने हो उसले नै कन्फर्म गरेको हुन्छ । त्यसपछि अपरेसन रुपमा लगेर बिरामीलाई सताइसकेपछि बेहोस् गर्नु अगाडि पनि डाक्टर साबहरुले कन्फर्म गर्नुहुन्छ । अर्को लेभल अफ चेक त्यहाँनिर हुन्छ । बेहोसीको औषधि दिइसकेपछि अपरेसन गर्ने चिकित्सकले पनि आफ्नो टिम मेम्बरहरुसँग यो सबै कुराहरु शेयर गरेको हुन्छ । र अपरेसनको बखत अपरेसन सकिने बेलामा पनि कैँचीहरु छुट्ने कुराहरुमा अपरेसन टिममा रहेका डाक्टर र नर्सहरुले त्यहाँ कोठामा ल्याइएका सामानहरु गनिएको हुन्छ । कति वटा कैँची छन् भनेर पनि गनिएको हुन्छ । अपरेसन शुरु हुनुभन्दा अगाडि कतिवटा समान थियो । त्यति नै क्लोजको बेलामा छन् कि छैनन् भनेर गनिन्छ । केही सामान नपुगेको अवस्था भेटियो भने बन्द गर्नुपूर्व सबै सामानहरु खोजिन्छ । त्यही भएर यस्ता घटनाहरु अक्कलझुक्कल हुने घटनाहरु हुन् । चरणबद्ध रुपमा काम गर्दै जाँदा दुर्घटना हुने एउटा कुरा भयो नत्र त्यस्ता समस्याहरु हुँदैनन् ।
शल्यचिकित्साको सेवा प्रवाहका लागि हामीसँग पर्याप्त जनशक्ति र गुणस्तरीय सेवा छ वा आजपनि सर्जरी गर्न विदेश जानुपर्ने अवस्था यथावत् छ ?
पहिलेको तुलनामा त अहिले धेरै नै राम्रो भइसक्यो । अहिले केएमसीमा त न्युरो सर्जरीको लागि रोबर्ट नै आइसकेको अवस्था छ । हामी शल्यचिकित्सामा अलि पछाडि भनेको रोबर्टको कुरामा चाहिँ हो । जुन अपरेसनहरु रोबर्टका आधारमा गरिने अपरेसन हुन्छ त्यस्तो रोबर्टका आधारमा हुने शल्यक्रियाचाहिँ हुँदैन । त्योबाहेक अरु अपरेसनहरु जस्तै दूरबिनबाट गरिने अपरेसनलगायत कामका लागि केएमसीमा त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन ।
समग्र देशको अवस्थाचाहिँ कस्तो छ ?
समग्र देशको कुरा गर्ने हो भने केही समस्याहरु रहेका छन् । कतिपय ठाउँमा अपरेसन गर्ने डाक्टरहरु जानुभएको हुन्छ तर मेसिन नै हुँदैन । यो पनि क्रमशः सुधार हुँदै आइरहेको अवस्था छ । अहिले डडेलधुरामा नै दूरबिन प्रविधिको माध्यमबाट पित्तथैली र एपेन्डिक्सको अपरेसन भयो । बागलुङबाट दुई वर्षजति समयदेखि हर्नियाका बिरामीको रेफर हुन छोड्यो । चिकित्सकहरु विस्तारै विकेन्द्रिकृत हुँदै जाँदाखेरि जनताले सुविधा त पाइरहनुभएको छ । तर विस्तार गर्नुपर्ने धेरै छ । यो सहरमा भन्दा पनि शल्यचिकित्सा सेवा गाउँ-गाउँमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।
नेपालको शल्यचिकित्सा सेवामा नागरिकले विश्वास गर्न सकिरहेको अवस्था छैन, अहिले पनि धेरै मानिस सर्जरीका लागि भारतलगायत मुलुक जाने अवस्था देखिन्छ, यसको मुख्य कारण के होला ?
उपचारका लागि बाहिरिने मानिसका लागि कस्तो हुन्छ भन्दा जस्तै अंग प्रत्यारोपणको कुरा गरौं । नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको दुई/चार वर्षजति भयो । प्रत्यारोपण गर्ने मान्छेको उमेर ५०/६० वर्ष हुन्छ । उनीहरुले नेपालमा भन्दा अंगप्रत्यारोपण बाहिर राम्रो हुन्छ भन्ने सुनि राख्नुभएको हुन्छ । त्यसले पनि केही प्रभाव पारेको देखिन्छ । अर्को नेपालमा सुरुवाती चरणमा रहेको हुनाले पनि विश्वास गर्न नसकेको हो कि । तर विस्तारै शल्यचिकित्सा सेवा लिनकै लागि विदेशिनेको दर न्युन हुँदै गएको जस्तो लाग्छ ।
शल्यचिकित्सा के हो ?
हामी नेपालीको मानसिकता अपरेसन अन्तिम चरणमा गर्ने कुरा हो भन्ने छ । अपरेसन हत्तपत्त गर्नु हुँदैन । हुँदै नभएपछि गर्ने कुरा हो भन्ने मानसिकता नेपाली समाजमा अहिले पनि कायमै छ । यसमा डराउनुपर्ने अवस्था विद्यमान छ । तर शल्यचिकित्सा भनेको मेडिकल साइन्सको एउटा विधा हो जसले आफ्नो जीवनलाई सरल बनाउने काम गर्छ । अपरेसन क्यान्सर भएपछि मात्र गर्ने भन्ने कुरा हुँदैन । एउटा सामान्य पिलाले पनि मानिसलाई ठुलो समस्या दिइरहेको हन्छ । यदि पछाडि पिलो आएको छ भने मान्छेले बताउँदैन । गुप्तांगमा भएको रोग भनेर मानिसले लुकाउने गर्छन् । तर त्यो धेरै ठुलो कुरा त छैन नि पाँच मिनेट मात्र लाग्ने हो । त्यो पिलोलाई निकाल्न सक्यो भने शरीरलाई पीडा हुँदैन । शरीरमा ज्वरो आउँदैन । हामीले यस्तो पनि देखेका छौं कि-पिलोलाई पाइल्स भन्ने सोचेर बसेर त्यसको पीप शरीरभरी फैलिएपछि अपरेसनका लागि हस्पिटल आउँदा पनि ज्यान बचाउन सकिएन । त्यो हाम्रा लागि पनि दुखःद कुरा हो । अब यही कुरा हामीले दुखेका बेला आएर काम गरेको भए ज्यन बच्थ्यो । ग्यास्टिक भयो भनेर आउनुहुन्छ अनि पत्थरीमा ढुंगा देखियो भने अपरेसन गर्न मानिसहरु अन्कनाउनुहुन्छ । अपरेसन गर्दा रिस्क छ । नहुने होइन । तर कुन टाइपको अपरेसन गर्ने हो ? कुन टाइपको शल्यचिकित्सा गर्ने हो त्यही हिसाबको जोखिमहरु छन् । तर जोखिमभन्दा पनि बढी लाभदायक छ भने मात्रै चिकित्सकले सल्लाह दिने हो । ढिलोभन्दा पनि फस्ट स्टेजमै अपरेसन गर्दा ठीक हुन्छ । हामीले अपरेसन गर्न मिल्दैन भनेर पठाएका पनि धेरै बिरामीहरु हुनुहुन्छ । तर सुरुवाती चरणमै अपरेसन गर्दा आफ्नै जीवनयापनमा सहज हुने हुन्छ । हामीले अपरेसन गर्दा बिरामी बेहोसीबाट उठ्न सक्छ कि सक्दैन ? अपरेसन धान्नसक्छ कि सक्दैन ? शारीरिक अवस्था कस्तो छ ? अपरेसन गर्दा पूरै शरीर बेहोस गर्ने हो कि आधा ज्यान मात्रै लठ्याएर गर्ने हो ? अपरेसन गर्नुभन्दा पहिले नै यी सबै कुराहरु जाँच गरिन्छ । यो बिरामीलाई यसरी अपरेसन गर्ने भन्ने कुरामा क्लियर भएपछि मात्रै अपरेसन कोठामा लाने हो । जोखिम न्यूनीकरण गरेर बल्ल अपरेसन गरिन्छ । त्यही भएर धेरै आत्तिनुपर्ने कुरा छैन । अपरेसन गर्नु नै हुन्न भन्ने कुरा विस्तारै चिरिँदै पनि गएको छ ।
शल्यचिकित्सा गर्दा अस्पतालहरुले बिरामीसँग गर्ने सम्झौताहरुको कारण पनि बिरामी अपरेसन गर्न मान्ने नगरेको भनिन्छ नि ?
हामीले हाम्रो बिरामीको अपरेसन गर्नुभन्दा अगाडि नै हुनसक्ने सम्भावित जोखिमहरु के के हुन् ? त्यो सबै भन्नुपर्ने हुन्छ । जुन कुराको रिस्क एक प्रतिशतभन्दा बढी छ त्यो कुरा बिरामीलाई भन्नु पनि पर्छ । र त्यो सबै कुराहरु लिखित रुपमा डकुमेन्ट पनि गर्नुपर्छ । अपरेसनदेखि डराउने मानिसलाई हामीले यी सब कुराहरु गर्दा आत्तिने नै भयो । झन् त्यसमा हाम्रो कर्तव्यचाहिँ के हो भन्दा फाइदा र बेफाइदाहरु राम्ररी छुट्याइदिनुपर्छ । र हाम्रो काम भनेको उहाँहरुलाई सल्लाह दिने हो । सल्लाह दिनेक्रममा अपरेसनको फाइदा र बेफाइदा तथा गर्दा र नगर्दाको परिणामबारे जानकारी गराउन सक्ने हो भने सायद हजुरले भनेको कुरामा कम गर्न सकिन्छ ।
हाम्रो समाजजमा शल्यचिकित्सासँग सधैं डर र भय जोडिएको छ । पछिल्लो समयका केही घटनाले झन् नकारात्मकता थपेको अवस्था पनि छ । डर र भय किन होला ।यसको कसरी न्यूनीकरण गर्न सकिन्छ ?
बाहिर आएका केही घटना अपवाद मात्रै हुन् । एक्सिडेन्ट नहुने भन्ने केही पनि हुँदैन । हामी मेडिकल भाषामा स्विचस्विच मोडल भन्ने हुन्छ । त्यसमा मल्टी लेयर सिस्टम जरुरी छ । हामी यो अभ्यास गर्दै पनि आएका छौं । कुनै ठाउँमा नभएको अवस्थामा यो गर्न जरुरी पनि छ । बाहिर आएका टुछपुट घटनाहरुको सत्य हो वा होइन भन्ने पनि थाहा हुँदैन । सबै पेपरमै आउने गर्छ । त्यहाँ भएको के थियो भन्ने विषयमा सर्जनका टोलीसँग छलफल गर्नुपर्छ । मल्टी लेयर सिस्टममा एकजनाको गल्तीले हुने कुरा पनि होइन । त्यसमा पनि कुन पोइन्टमा समस्या भएर यस्तो भएको बुझ्नुपर्छ । जस्तै- बिरामीले दाहिने हातको अपरेसन गर्नुपर्ने हो तर बिरामी ओपीडी आएदेखि नै बायाँ हातको डकुमेन्ट बनिरहेको छ कि ? त्यो पनि हुनसक्छ । इरर सधैँ डाक्टरमै हुन्छ भन्ने हुँदैन । समस्या धेरै ठाउँमा हुने भएका कारणले समस्या भएका क्षेत्रहरु पहिचान गरेर त्यो ठाउँलाई सच्याउन जरुरी हुन्छ ।
शल्यचिकित्साप्रति आमनागरिक हुने डर र भय नियन्त्रणका लागि क-कसले के गर्नुपर्छ ?
यसका लागि काउन्सिलिङ धेरै ठुलो कुरा हो । हामीले अपरेसनका जोखिम र त्यसका फाइदाहरुबारे बिरामीलाई जानकारी दिनसक्यौं भने त्यस्तो भयलाई कम गर्न सकिन्छ ।
सामान्यतः अपरेसनलाई कसरी बुझ्ने ?
हामी अपरेसनलाई एउटा हाँगा बनाएर हेर्ने हो भने एउटा इमरजेन्सी अपरेसन हुन्छ । र एउटा इलेक्टिभ हुन्छ । जस्तै हामी दुर्घटनामा पर्यौं, रगत बगिरहेको छ अथवा आन्द्रा फुटेको छ भने यस्ता केसहरुलाई इमरजेन्सी रुपमा हेरिन्छ । यो भनेको तुरुन्तै अपरेसन नगर्दाखेरिमा ज्यानै जाने हुन्छ । अर्को इलेक्टिभ अपरेसन हुन्छ । त्यसमा ज्यान जाने जोखिम हुँदैन । त्यसमा रोग विशेषको आधारमा आ-आफ्नो जोखिम भए पनि ज्यानै जाने जोखिम हुँदैन । त्यस्तो जोखिम भएको अवस्थामा अपरेसन गरिँदैन । अहिले भइरहेको भन्दा भविष्यमा सुधार गर्न अपरेसन गरिने हो । त्यही भएर यसमा धेरै डराउनुपर्ने कुरा छैन । इलेक्टिभ अपरेसन गर्दा त्यस्तो धेरै आत्तिनु पर्दैन ।
चिकित्सक र चिकित्सा क्षेत्र मानवजीवन रहेसम्म अन्योन्याश्रित छ । यसलाई व्यवस्थित र गुणस्तरीय बनाउन कसले के गर्नुपर्छ ?
अहिले विस्तारै अस्पतालहरुको संख्या बढ्दै गइरहेका छन् । चिकित्सकको संख्या पनि विस्तारै बढिरहेको छ । जति बढी उपकरण र जनशक्ति भयो जनताले त्यती नै बढी बुझ्न पाउँछन् । त्यसरी व्यवस्थित हुँदै जाला । तर अहिले हामीसँग जति छ यो अपुग नै छ । साधन र स्रोतलाई देशभर हरेक जनताको पहुँचमा पुर्याउन सरकारले पनि सहयेग गरेको खण्डमा जनचेतना बढ्छ होला ।
शल्यचिकित्सा क्षेत्रमा सरकारको लागि पर्याप्त छ या छैन ?
सरकारले अझै लगानी बढाउनुपर्छ । सबै ठाउँमा अत्याधुनिक रुपबाट शल्यचिकित्सा सेवा सुरु हुन जरुरी छ । यसका लागि म लगानी बढाउँदै सेवा विस्तारका लागि सरकारसँग आग्रह गर्न चाहन्छु ।
शल्यचिकित्साबारे आमनागरिकलाई तपाईंको सन्देश के छ ?
म आमनागरिकलाई अपरेसन गर्ने कुरामा नडराउनु भन्न चाहन्छु । अपरेसन भनेको हजुरहरुकै फाइदाका लागि गरिने कुराहरु हुन् । हजुरहरुकै सजिलोका लागि गरिने कुरा हो । आफूले दुःख सहेर बस्नुभन्दा अपरेसन गर्नु राम्रो हुन्छ । त्यसका लागि चिकित्सकसँग बसेर सल्लाह गर्न पनि अनुरोध गर्न चाहन्छु । चिकित्सकसँग सल्लाह लिएर आफूलाई जे सजिलो हुन्छ त्यही गर्नुहोला ।
डाक्टर, चिकित्सकलगायत सबैलाई एकै नामले चिनिन्छ । यो नाम नमिल्दो र जोखिमपूर्ण पनि मानिन्छ । फरक-फरक गरेर कसरी चिनिनुपर्छ । विशेषताका आधारमा किन चिनिनु जरुरी छ ?
यसमा चाहिँ चेतनाकै कमी भन्छु म । किनभने २०५० सालसम्म नेपालमा डाक्टरको संख्या एकदमै सीमित थियो । मेडिकल कलेजहरु सञ्चालन हुन थालेको र चिकित्सक उत्पादन हुन थालेको बल्लबल्ल हो । यस्तो हुन थालेको पाँच/दश वर्ष भयो । नत्र भने डाक्टरहरु सीमित हुन्छन् । त्यसो हुँदा एउटै डाक्टरले धेरै जनसंख्यालाई कभर गर्नुपर्ने हुन्छ । त्यसकारण आफ्नो सेवा क्षेत्र यो हो भनेर भन्ने अवसर उसलाई पनि हुँदैन । यही कारणले गर्दा जनमानसमा डाक्टरले सबै हेर्छ भन्ने परेको हो । तर अहिलेको समाज विशिष्टकृत हुँदै गइरहेको छ । पहिले एमबीबीएस डाक्टरलाई देखाउन भिड हुन्थ्यो भने अब अहिले एमबीबीएस मात्र होइन मास्टर्स गरेकै डाक्टरहरु नेपालमा हजारौंको संख्यामा हुन थालिसमे । यो सबै समयको कुरा हो । नेपालमा मेडिकल अभ्यास विस्तारै बढ्दै गइरहेको छ । तपाईंले भनेको चिकित्सकको सेवा विशेषज्ञताकोअनुसार चिनिनुपर्छ । तर नेपालमा अहिले विशेष क्षेत्रका चिकित्सकहरुका कारण मुटुका बिरामीले मुटुको डाक्टरसँग जानु र किड्नीको बिरामीले किड्नीको चिकित्ससँग जानुपर्ने कुराको ज्ञान बढ्दै गएको छ । नागरिकमा चेतनाको विकास भएपछि चिकित्सकहरु त्यहीअनुसार चिनिन थाल्छन् होला ।