
मधेसी समुदायको पहाडियाप्रति सधैं एउटा गुनासो रहन्छ, हामीलाई देसी भनेर हेपिन्छ, इन्डियन (भारतीय) को बिल्ला भिराइन्छ । लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमि बनाएका मधेसी समुदायका प्रतिनिधिले भने कर्णालीमा त्यस्तो विभेद भोग्नुनपरेकामा गर्व गरेका छन्
तराई-मधेसका विभिन्न जिल्लाबाट कर्णालीमा विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा यहाँ आइपुगेका उनीहरुलाई एकै थलोमा जुराएको हो, कर्णाली उत्सव, कुडा कर्णालीले ।
मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको कर्णालीमा मधेस नामक सत्रमा सहप्राध्यापक डा. विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाई संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका अनुभव सुनाए । तर ती अनुभव तीता थिएनन् ।
२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेसमा भन्दा कर्णालीमा राजनीतिक कल्चर राम्रो रहेको बताए । ‘जुनसुकै पार्टीको भए पनि मेलमिलाप, आपसी समन्वय राम्रो छ । म आएको बेला भर्खर बहुदल आएको थियो,’ उनले भने, ‘त्यतिखेरदेखि हेर्दै आएको छु, यहाँ राजनीतिक दलहरुले मिलेर काम गरेको देख्छु, तर मधेसमा त्यस्तो देख्दिनँ ।’
मधेसको राजर्षी जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकै दिन स्थापना भए पनि राजर्षी जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको उनले टिप्पणी गरे । मधेसमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न नसकेको उनको भनाइ थियो ।
‘कर्णालीको हावापानी राम्रो छ, न ज्यादा गर्मी न चिसो । हामीलाई मधेसी भन्ने विभेद छैन,’ दासले भने, ‘अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरु कम अध्ययन गर्ने पाएँ । पढाइलाई त्यति महत्त्वको दिएको पाइनँ ।’
सुर्खेतको बराहतालस्थित नेपाल राष्ट्रिय प्रावि स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । २०७२ मंसिरदेखि सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेस जान मन नलागेको बताए । ‘मलाई सुर्खेतभन्दा त बराहताल छाड्न मन लाग्दैन । धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिनँ,’ उनले भने ।
वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम (कपाल काट्ने) व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले आफूले मधेसी समुदायका रुपमा कुनै प्रकारको विभेद भोग्नुनपरेको बताए । ‘हामीलाई कुनै विभेद छैन, यहाँका मानिस असाध्यै मिलनसार र सहयोगी पाएको छु,’ उनले भने, ‘कर्णालीवासीको अगाध मायाकै कारण मधेस जान मन लाग्दैन ।’