
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फल्चा (पाटी) काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन् । उनले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएकाले यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताए ।
फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनको भनाइ छ । ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदै छन् । यसलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँछौ । फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो,’ सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो ।’
उनले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको बताए । उनले भनेका छन्,‘आर्थिक वर्ष ०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । बिजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष ०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु. ९ करोड रहेको छ ।’
‘कंक्रीटाइजेसन’ ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने मेयर बालेनको विश्वास छ । ‘सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी डिजाइन गरिएको छ । यो अपाङ्गमैत्री पनि छ । यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भनेका छन् ।
