सुर्खेत, फागुन ६ :

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सुर्खेतमा सोमबारबाट सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै-समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवरसमेत भएको बताए ।

मुख्यमन्त्री कँडेलले पछिल्लोपटक संघीय सरकारले कर्णालीका केही महत्त्वपूर्ण सडकको स्तरोन्नतिका लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जनाए । ‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढने प्रक्रियामा रहेको अवस्था छ,’ उनले भने, ‘अनियमित विद्युत्‌लाई नियमित गर्न १३२ केभी विद्युत् प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरु भएका छन् ।’

मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औंल्याए । उनका भनाइमा आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ । कर्णालीले मानसरोवर एवं मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुन्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय  पहिचान बढाएका मद्दत गरेका छन् ।

कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ । तर यति हुँदाहुदै पनि कर्णाली भन्नेबित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत् रहेको टिप्पणी गरे । उनले भने, ‘वर्षौंदेखि बनाइएको रोग, भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ । कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पुर्‍याउन जरुरी छ ।’

पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाइ छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन । आफ्नो अधिकार क्षेत्र पर्ने कामहरु इमानदारीपूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्रबाहिरका विषयहरु संघीय सरकारलाई महसुस गराउने दृढ अभियानमा म लागिरहेको छु,’ उनले भने ।

फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे । ‘यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापि हुन सक्दैन । व्यक्तिका तमाम कमजोरीहरु होलान्, सत्ता सञ्चालन र शासनमा आमूल सुधारको अपेक्षा होला । त्यसलाई अन्यथा मान्दैन,’ उनले भने, ‘आवधिक निर्वाचनमार्फत सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टि प्राप्त गर्न सक्छन् ।’

कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले तीनवटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । ‘जे कामका लागि युवाहरु विदेश गएका हुन्, त्यो कामका लागि सीप, तालिम नहुनु र त्यसको अवस्थालाई बुझ्न नसक्दा थुप्रै युवाहरुले समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘त्यसैले सकेसम्म रोजगारीमा जानुपूर्व सीप सिकेर जानुपर्छ । तालिम लिएर मात्र जाने कुरामा सचेत गराउनुपर्छ ।’

पूर्वसचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृंखला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताए । ‘कर्णालीका समस्याहरुलाई राष्ट्रिय समस्याका रुपमा स्थापित गर्न पनि यस्ता खालका बहस उपयुक्त हुन्छन्,’ उनले भने, ‘नीति बहस निकै आवश्यक हुन्छ । पछाडि परेको वर्ग समुदायलाई माथि उठ्न यस्ताखालका बहसले निकै मद्दत पुग्छ ।’