काठमाडौं, चैत ३ :

चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित एक समारोहबीच आइतबार ट्रेलर सार्वजनिक गरिएको हो ।

समारोहमा  लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, वीरेन्द्रसिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, सङ्गीतकार तथा गायक राजनराज शिवाकोटीलगायतको उपस्थिति थियो । प्राविधिकहरूको पनि उपस्थिति थियो ।

प्राय: सबै पात्रलाई प्रस्तुत गरिएको ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । यसमा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ । पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । उनले थपे, ‘यो कथा पूर्णत: सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।’ यसअघि ‘डोरी’ का पोस्टरहरू सार्वजनिक गरिएको थियो । जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत दिइएको थियो । तर, यसको गीत ‘चुच्चे ढुंगो’ मा भने अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाहालगायत कलाकारको पनि प्रमुख भूमिका छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज शिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनिश फागो छन् ।