
उमेर पुगेका सन्तान
हराउन थालेपछि
मातृवात्सल्यको प्रवेगले
रन्थनिएकी आमा
ढुंगे चौतारीमा बसेर
गाउँदै गरेको लोरीको माधुर्यमा
हिमाली झरनाले संगीत भर्दै थियो ।
लाग्छ
प्रकृतिको वायुमण्डल
मातृ आत्मीयताको संवेग
पृथ्वीको हरकुनामा छर्दै थियो ।
आमाको लोरीले भन्दै थियो
तिमीले बिर्सेको हिमालको हाँसो
वियोगको चोट खपेरै भए पनि
आजसम्म रोएको छैन ।
विश्वास गर मलाई
तिमी हराएको दिन बगेको आँसु
सप्रमाण तिमीलाई देखाउन
आजसम्म मैले धोएको छैन ।
फर्केर हेर त तिम्रो घर !
तिम्रो रुवाइ फुल्याउन
मैले हल्लाउने कोक्रोलाई
समयको विस्मृतिले
कति पनि छोएको छैन ।
आमाको लोरी गुनगुनाउँदै थियो
तिमी हराए पनि
प्रत्येक दिन रोदी घरमा
दोहोरी साँझ चलेकै छ ।
तिमी जहाँ गए पनि
तिमीले छोडेको घरको पूजाकोठामा
तिम्रो शुभकामनाको दियो बलेकै छ ।
मैले बिर्सें भन्ने नठान्नू तिमीले
प्रत्येक दसैंमा
तिम्रो लागि पहेँलो जमरा साँचेकी हुन्छु ।
तिमी आउने आशाको उन्मादले
बुढो कम्मर हल्लाउँदै
म गजबसँग नाचेकी हुन्छु ।
म तिम्री आमा हुँ
तिमी कहिल्यै नआए पनि
अनन्त कालसम्म
हिमाल साक्षी राखेर
तिम्रै आसमा बाँचेकी हुन्छु ।
मैले गाउने तिम्रो लोरी
सायद तिमी अब सुन्दैनौ ।
लाग्छ
मलाई नै बगाउने बाढी आए पनि
बाँध थुन्ने कर्मी
तिमी कहिल्यै अब हुँदैनौ ।
तर यति सम्झिराख
तिम्रो बाल्यकालको यादमा
म सधैँ लोरी गाइरहने छु ।
तिम्रा हर उपलब्धि र उत्सवहरूमा
म सधैं छाइरहने छु ।
तिम्रो बालापन सम्झे
म सधैँ लोरी गाइरहने छु ।
-साहित्यकार, कवि तथा प्राध्यापक डा. सुरेन्द्र सिटौलाको स्वर्गको बस्ती कविता संग्रहबाट
