
साहित्य सन्ध्याको नियमित मासिक ४६१औं शृंखलामा ‘जीवनशैली र मानसिक स्वास्थ्य’ विषयमा परिचर्चा गरिएको छ ।
‘जीवनशैली र मानसिक स्वास्थ्य’ विषयमा विशद चर्चा गर्दै डा.जनक बस्नेतले चिकित्सा पेसामा रहेको आफूले विद्वान् साहित्यकारहरूका अगाडि उभिएर स्वास्थ्यबारे चर्चा गर्ने अवसर पाएको जनाए । अध्ययनले अरूलाई उपचार गर्ने डाक्टरको औसत आयुचाहिँ कम देखिएको छ । प्राणघातक रोगहरूको बढोत्तरी भइरहेको छ र त्यसमा पनि हृदयाघातका कारणले हुने मृत्यु ३१ प्रतिशत देखिएको छ भने क्यान्सर त्यसैगरी बढिरहेको धारणा राखे ।
यस्ता प्राणघातक रोगका कारकका रूपमा मादक पदार्थको सेवन, सुर्तीजन्य पदार्थको सेवन, विभिन्न प्रकारका दुखाइ, तनाव आदि देखिन्छन् । ‘आफ्नो स्वास्थ्य आफ्नै जिम्मेवारी’ भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्ने र रोगको उपचार होइन स्वास्थ्य जीवनको विशेषज्ञताको खोजी गरिनु अहिलेको आवश्यकता रहेको पनि डा. बस्नेतको भनाइ थियो । ‘सामाजिक, मानसिक, आध्यात्मिक रूपमा स्वस्थ हुनु आवश्यक छ । अहिले अस्पताल, डाक्टर, विशेषज्ञ र ज्ञान बढिरहेको छ तर रोग पनि बढिरहेकै छन् । यो चिन्ताको विषय हो,’ उनले भने, ‘मानवको कमजोर स्वास्थ्य अहिलेको समस्या हो । वास्तवमा नेपाली समाजले रोगको विज्ञ होइन कि स्वास्थ्यविज्ञ खोजेको छ । हामी स्वस्थ रहन हाम्रो जीवनशैलीमा सुधार ल्याउनु आवश्यक छ । त्यसका लागि खानपान, व्यायाम, विश्राम, विचार र विकारको व्यवस्थापनजस्ता पाँचवटा कुरामा हामीले ध्यान दिनु आवश्यक छ । रोगको कारण विकार हो र त्यसका लागि रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।’
उनका अनुसार खाएको खानाको सकारात्मक असर शरीरमा विस्तारै देखिन्छ । अल्कोहलले जस्तो तत्कालै देखिन्न । कम विषादीयुक्त खाना खाने, स्वास्थ्यका लागि खाने, तयारी खाना (जङ्कफुड) सकेसम्म खाँदै नखाने, बेमौसमी उत्पादनमा विषादी बढी हुने हुँदा मौसमी (सिजनल) तरकारी खाने, स्थानीय खानेकुरा खाने बानी बसाल्नु आवश्यक छ किनभने प्रकृतिभन्दा ठुलो केही कुरा हुँदैन । रातो, पहेँलो हरियो आदि धेरै रङ मिलाएर फलफूल खाने, गेडागुडी खाने, नुनको मात्रा कम गरेर तरकारी बढी खाने, कार्बोहाइड्रेड कम गर्ने र सबैभन्दा हानिकारक देखिएको चिनीको प्रयोग अत्यन्त कम गर्ने वा नखाने, मरिच र बेसारलाई हाम्रा तरकारीमा मिश्रण गरेर प्रयोग गर्ने, ठिक्क परिणाममा मसलाको प्रयोग गर्ने, हाम्रो शरीरका लागि उपवास अत्यन्त लाभदायक छ ।
उनले अहिले अनुसन्धानले देखाएको छ कि उपवासले काम नगर्ने कुनै पनि रोग छैन । उपवासले पाचनप्रणालीलाई आराम दिन्छ । १६ घण्टा नखाने र ८ घण्टा खाने तालिकालाई प्रयोगमा ल्याउने, पेटको ठुलो आन्द्रा र मस्तिष्कको सम्बन्ध हुन्छ, ब्याक्टेरिया बस्ने र बन्ने ठाउँ ठुलो आन्द्रा नै हो । हामीले प्रयोग गर्ने एन्टिबायोटिकले शरीरलाई चाहिने ब्याक्टेरियालाई मारिदिन्छ । ब्याक्टेरियाको राम्रो स्रोत दही हो, फ्रिजमा नराखेको एक रातको दही अत्यन्त लाभदायक हुन्छ । साँधेको गुन्द्रुक पनि लाभदायी हुन्छ । काँचै खान मिल्ने कुरालाई काँचै खाने, भुटेर र तारेरभन्दा उमालेर खाने, डढेको नखाने, खाना खाँदा पेटभरि होइन आधा मात्र भरिने गरी खाने, बेलुका हलुका खाना खाने र त्यो पनि सुत्नुभन्दा कम्तीमा तीन घण्टा अगाडि खाने, खानाको समयले निकै ठुलो पभाव पार्छ भन्ने तथ्यलाई मनन गर्ने, जीवन स्वस्थ राख्नका लागि योग राम्रो हो र यसले ऊर्जा खर्च गर्दैन बरु थप्छ र शारीरिक, मानसिक, आध्यात्मिक स्वास्थ्यका लागि योग अत्यन्त लाभदायक छ भन्दै सुझाव दिए ।
‘हामी मानवका लागि दिनमा सात-आठ घण्टा सुत्नु आवश्यक छ र त्यसमा पनि लगातार ६ घण्टाचाहिँ सुत्नै पर्छ र बायोलोजिकल क्लकका आधारमा पनि सुत्ने भनेको राति नै हो,’ उनले भने, ‘सुत्दाखेरि उत्तानो परेर सुत्दा अक्सिजनको कमी हुने तथ्यले पुष्टि गरेका छन् र सुरुमा देब्रे कोल्टो फर्केर सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हाम्रो शरीर र दिमाग लचक हुनु आवश्यक छ, तनाव भयो भनेर गलत चिजको प्रयोग गर्नु थप तनाव बढाउनु हो । आनन्दको खोजी आफैँले गर्नुपर्दछ । दिमागलाई सकारात्मक पार्न व्यायाम, सङ्गीत सुन्ने, ध्यान तथा योग गर्ने, लेखपढ गर्ने, भजनकीर्तन गर्ने र परनिर्भरता हटाउनु आवश्यक छ । होल बढी चेकिङ होइन होल बडी सर्भिसिङचाहिँ हाम्रो आवश्यकता हो ।’ हामीले हाम्रो शरीरबाट कामको प्रकृतिका आधारमा कम्तीमा दुई लिटर पिसाब निष्कासन गर्ने परिणामा पानी पिउनुपर्छ र खाना खानुभन्दा आधा घण्टा अगाडि र खाएपछि आधा घण्टा पछाडि पानी खानुपर्छ तर बिहानचाहिँ एक लिटर पानी खाली पेटमा खाँदा लाभदायी हुन्छ भन्नेसमेतको डा. बस्नेतले विशद तर अत्यन्त सूचनामूलक, जानकारीमूलक धारणा राखे ।
यस्तै समारोहमा महेशराज खरेल, गायत्रीकुमार चापागाईं, खेमराज निरौला, मिसन अधिकारी, कुमार नेपाल, बेनीबहादुर थापा, बैरागी जेठा, डा. मनोज जोशी, बलराम विष्ट, डा.गोविन्दप्रसाद आचार्य, शर्मिला राई, दिल पौडेल, चिन्तामणि शिवाकोटी, प्रमोद भण्डारी, मुकुन्दप्रसाद ढकाल, डम्बर पहाडी, लक्ष्मण तिमिल्सिना, कविता राउत, कृष्णप्रसाद पौडेल, गोविन्द घिमिरे ‘वेदमणि’, चेतन बस्नेत ठुलाघरे र पूर्णविरामले आ-आफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।
वाचित रचनामाथि वरिष्ठ स्रष्टा डा.राजेन्द्रप्रसाद अधिकारीले समीक्षा गर्दै विगत चार दशकदेखि साहित्य सन्ध्याले अविश्रान्त यात्रा गरिरहेको छ । यो कार्यशालामा कविता सुनाउन आइरहने मान्छे आज समीक्षकको भूमिकामा उभिएको छु । आजको यो विशेष समारोहमा गद्यमा पनि सुन्दर कविता आएका छन् र यद्यमा पनि त्यत्तिकै सुन्दर कविता आएका छन् । सरलतामा गम्भीर भावका कविता पढिएका छन् । गजल पनि वाचित भए । समसामयिक बेथितिका कुरालाई गजलमा समेट्ने प्रयत्न गरिएको छ । गाउँमा बालबालिका नभएको पीडा कवितामा अभिव्यक्त भएको छ । अवसरवाद मौलाएको कुरा पनि कविताले उठाएका छन् ।
उनले परिष्कार नगरेको वा नपुगेको कुराचाहिँ स्रष्टाले सार्वजनिक नगरेको राम्रो । दास मात्रै बनेका हामी भनेर हामलिाई नै कविताले व्यङ्ग्य गरेका छन् । आफू सफा नभएपछि समाज त कसरी सफा हुन्छ र ? भन्ने भावका छोटा तर अर्थयुक्त कविता पनि वाचन भएका छन् । अहिलेको समयको आबाज कविताले बोलका छन् र निरङ्कुशताले टाउको उठाउन खोजेको प्रति चिन्ताभाव व्यक्त गरिएको छ । युवापलायनको पीडा अनि वर्तमानको विसङ्गत राजनीतिका प्रति आक्रोश व्यक्त गरिएका कविता पनि आएका छन् । आफैँलाई व्यङ्ग्य गरेर रूपान्तरणको आग्रह कवितामा गरिएको छ । सामाजिक लैंगिक विषय उजागर गरिए पनि शीर्षकीकरण अलि नमिलेको पक्ष र निरुद्देश्य सिर्जना गर्ने पक्षमा अनि परिमार्जनका पक्षमा भने स्रष्टाको ध्यान जानु आवश्यक छ । समग्रमा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राखे ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा शनिबार रामशाहपथस्थित पद्मोदय माविमा भएको कवि गोष्ठीमा प्राकृतिक चिकित्सा विज्ञानका क्षेत्रमा कार्यरत डा.जनक बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
यस्तै साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, डा.राजेन्द्रप्रसाद अधिकारी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, वरिष्ठ स्रष्टा पूर्णविराम, डा.गोविन्दप्रसाद आचार्य, चिन्तामणि शिवाकोटी, डम्बर पहाडी, महेशराज खरेल, खेमराज निरौला, प्रगतिशील लेखक संघ प्रदेश समितिका बैरागी जेठा, प्रलेस ललितपुर जिल्ला सचिव मिसन अधिकारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा (८७ वर्ष) लगायत अथितिहरुको पनि उपस्थिति रहेको उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो
‘हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुष्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ,’ उनले भने, ‘आजको यो विशेष समारोहमा भने डा.जनक बस्नेतले मिहिनेतपूर्वक हामी मानवका लागि अत्यन्त महत्त्वपूर्ण रहेको विषयमा विशद परिचर्चा गरिदिनुभएको छ । वाचित रचनामाथि वरिष्ठ साहित्यकार डा.राजेन्द्रप्रसाद अधिकारीले मसिनोगरी टिप्पणी गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो, सबै सबै गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु ।’