काठमाडौं, वैशाख २४ :

भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढेको सैन्य तनावसँगै दुवै मुलुकको मिसाइल तथा हवाई सुरक्षा क्षमताबारे चासो बढेको छ। भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘आतंकवादी ठेगानामा लक्षित’ सैन्य कारबाही गरेको दाबी गर्दै ‘अपरेसन सिंदूर’ सञ्चालनमा ल्याएको छ।

भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न मुलुक हुन् र दुवै देशले लामो समयदेखि आधुनिक मिसाइल प्रणाली र एयर डिफेन्स क्षमताको विकास गर्दै आएका छन्। यस्तो अवस्थामा, वर्तमान तनावले यी देशहरूको सैन्य शक्ति कत्तिको प्रभावकारी छ भन्ने बहस फेरि सतहमा आएको छ।

भारतको मिसाइल क्षमता

भारतले पछिल्लो केही वर्षमा मिसाइल प्रविधिमा उल्लेखनीय प्रगति गरेको छ। भारतको प्रमुख लामो दूरीको ब्यालिस्टिक मिसाइल ‘अग्नि–५’ को मारक क्षमता ५,००० देखि ८,००० किलोमिटरसम्म रहेको छ। यसको अर्थ भारतले एशिया र यूरोपका धेरै मुलुकसम्म प्रहार गर्न सक्ने क्षमता राख्दछ।

भारतको हवाई सुरक्षा प्रणालीमा इस्रायलसँग संयुक्त रूपमा विकास गरिएको ‘बराक–८’ मिसाइल प्रणाली, रूसी एस–४०० ट्रायम्फ एअर डिफेन्स सिस्टम लगायतको प्रयोग हुन्छ। भारतले अमेरिका, फ्रान्स र इजरायलसँग मिलेर आधुनिक प्रविधि प्राप्त गरिरहेको छ।

पाकिस्तानको मिसाइल क्षमता

पाकिस्तानले पनि आफ्नो मिसाइल क्षमतामा लगानी गर्दै आएको छ। पाकिस्तानको लामो दूरीको मिसाइल ‘शाहीन–३’ को मारक क्षमता करिब २,७५० किलोमिटर रहेको बताइन्छ। यो मिसाइल भारतको उत्तर–पूर्वी राज्यहरूसमेत लक्षित गर्न सक्षम मानिन्छ।

पाकिस्तानले चीनसँगको सैन्य साझेदारीमा मिसाइल र एयर डिफेन्स प्रणाली विकास गरेको हो। पाकिस्तानको मुख्य हवाई सुरक्षा प्रणालीमा FD-2000 (चीनको HQ-9 सिस्टम) समावेश छ।

निर्भरता र साझेदारी

भारतको सैन्य प्रणालीमा रूसी प्रविधिको प्रभाव अझै व्यापक देखिन्छ। यद्यपि, पछिल्लो समय भारतले अमेरिका, फ्रान्स र इजरायलसँग रक्षा सहकार्य विस्तार गरिरहेको छ। पाकिस्तान भने मुख्यतः चीनमा आधारित सैन्य प्रविधि र आपूर्तिमा निर्भर रहेको छ।

विशेषज्ञहरूका अनुसार, भारतको मिसाइल प्रणाली र हवाई सुरक्षा प्रणाली पाकिस्तानको तुलनामा धेरै आधुनिक र दूरगामी मानिन्छ। साथै, भारत इण्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) प्रविधि भएको विश्वका सात देशमध्ये एक हो।

हालको अवस्था हेर्दा, दुवै मुलुक सतर्क छन् र द्वन्द्वको अवस्था चर्किँदा यी प्रविधिहरूको प्रयोग गर्ने जोखिम बढ्न सक्ने देखिन्छ। बीबीसी हिन्दी